पर्याप्त वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ
बाँके | साउन ९, २०८१
बाँके: साउन महिनाको दोस्रो हप्तासम्म पनि बाँकेमा पर्याप्त वर्षा नहुँदा यस वर्ष धान रोपाइँमा ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका सबै किसानले धानको बीउ रोप्न पाएका छैनन् ।
रोपेको खेतमा पनि वर्षा नहुँदा धान सुक्न थालेको छ । पानी नपरेका कारण धान रोपाइँ अझै नसकिएको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान केलाराम महाउतले बताउनुभयो ।
सिँचाइको व्यवस्था नभएकाले धान रोपाइँ गर्न नसकिएको उहाँको भनाइ छ । डुडुवाका हिरमिनिया, होलिया, बेतहनीलगायत क्षेत्रमा पर्याप्त वर्षा नभएका कारण किसानले अहिलेसम्म धान रोप्न नसकेको महाउतले जानकारी दिनुभयो ।
बोरिङबाट पानी तानेर जसोतसो रोपाइँ सके पनि वर्षा नहुँदा खेतमा धजा फाट्न सुरु भएको हिरमिनियाका किसान अशोक थापाले बताउनुभयो । “बिजुलीको भोल्टेज कम भएर मोटरले पानी तान्दैन, आकाशबाट पानी आउँदैन, रोपेको बीउ जोगाउन पनि गाह्रो भएको छ”, उहाँले भन्नुभयो ।
आकाशे पानीको भर पर्नुपर्ने किसानलाई यस वर्ष धानको बीउ राख्नेदेखि रोपाइँ गर्नसम्म समस्या भएको खजुराका किसान गेहेन्द्र धितालले बताउनुभयो । सिँचाइको व्यवस्था नभएकाले किसानले धान रोप्न आकाश हेरेर बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
“प्रकृतिले पनि ठगिरहेको छ, धानखेतीका लागि आवश्यक सिँचाइ, बीउ र मल नपाउँदा बर्सेनि गरिखाने किसानले दुःखमाथि दुःख झेल्नुपर्ने बाध्यता छ”, उहाँले भन्नुभयो ।
बाँकेमा सिँचाइ सुविधा नपुगेको क्षेत्रमा घरायसी प्रयोजनका लागि राखिएका मोटर र कतिपय क्षेत्रमा खानेपानीको धाराको पानी प्रयोग गरेर पनि रोपाइँ गरिएको छ । हालसम्म बाँकेमा जम्मा ६० प्रतिशत बढी रोपाइँ भएको कृषि ज्ञान केन्द्र नेपालगञ्जका प्रमुख शकिल अहमदले जानकारी दिनुभयो ।
उहाँका अनुसार यसपटक हालसम्म पनि आवश्यक पर्ने वर्षा नभएकाले सबैतिर रोपाइँ हुन सकेको छैन । हालसम्म भएको रोपाइँ पनि अधिकांश सिक्टा सिँचाइको नहर भएको ठाउँ वरिपरि र कृषि ज्ञान केन्द्रको अनुदानबाट सिँचाइ भएको क्षेत्रमा नै गरिएको छ ।
बाँकेमा सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहरबाट राप्ती सोनारी र पश्चिमी नहरबाट कोहलपुर नगरपालिका तथा बैजनाथ गाउँपालिकाका केही वडामा सिँचाइको व्यवस्था भए पनि अधिकांश किसान अहिले पनि आकाशे पानीको भरमा धानखेती गर्न बाध्य छन् ।
धानको बीउ राख्ने समयलाई दृष्टिगत गरेर पूर्वी र पश्चिमी दुवै नहरमा नियमित रूपमा पानी छाडिएको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इन्जिनियर सन्देश पौडेलले जानकारी दिनुभयो ।
बाँकेमा ३६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यस वर्ष नभएका कारण बाँकेमा धान रोपाइँमै किसानलाई कठिनाइ भएको छ ।
मकवानपुरः मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारीमध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदमप...
पोखरा: गण्डकी प्रदेशमा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ पाँच लाख बढी मत प्राप्त गरेको छ । गण्डकी प्रदेशका ११ वटा जिल्लामा कुल १८ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ १५ क्षेत्रमा विजयी बनेको पार्टीले समानुपा...
कञ्चनपुरः बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर लुहार परम्परागत आरन पेसाको भरमा परिवारको जीविका चलाउँदै आउनुभएको छ । शुक्लाफाँटा नगरपालिका–८ फुलेलीमा आरन सञ्चालन गर्दै उहाँल...

